काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सी आफ्नै मैदानमा बराबरीमा रोकियो । बुधबार राति भएको खेलमा ऊ रेलिगेशन जोनमा रहेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
चेल्सीले आफ्नै मैदान स्टाम्फोर्ड ब्रिजमा बराबरी अंक बाड्न बाँध्य भएपछि प्रशिक्षक माउरिजियो सर्रीले निराश बनेका छन् । चेल्सीका इटालियन कोच सर्रीले अब चेल्सीलाई स्ट्राइकरको खाँचो भएको बताएका छन् ।
चेल्सीले गएरातिको खेल ७२ प्रतिशत नियन्त्रणमा राखेपनि गोल गर्न असफल रह्यो । आफ्नै घरमा ऊ कमजोर भएपछि साउथह्याम्पटनले पछिल्ला ११ खेलमा पहिलो पटक अंक जोड्न सफल भयो । त्यैपनि साउथह्याम्पटन तालिकाको पुछारदेखि तेस्रो स्थानमा छ ।
गए रातिको खेलमा इडेन हजार्ड र अल्भारो मोराटाले गोलका सुन्दर अवसर गुमाएका थिए भने चोटका कारण ओलिभर जिराउड मैदान प्रवेश गरेनन् । यससँगै चेल्सीले तेस्रो स्थानको म्यान्चेष्टर सिटीसँग अंकदूरी घटाउने मौका गुमाएको छ । जारी लिगको अंक तालिकामा चेल्सी ४४ अंकका साथमा चौथो स्थानमा यथावत छ भने तेस्रो स्थानको सिटीसँग ४७ अंक छ ।
प्रकाशित मितिः २०७५ पुष १९ बिहिबार
Comments