काठमाडौं । काठमाडौंमा जारी पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज मंगलबार विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । १२ औं चरणको दोस्रो दिनको दोस्रो खेलमा यी दुईबीच भिडन्त हुन लागेको हो ।
यस सिजन लिगमा दुई विभागीय डर्बी खेल भइसकेको छ र आज अन्तिम विभागीय डर्बी खेल हुँदैछ । यसअघि अर्को टिम त्रिभुवन आर्मीले दुवै क्लबसँग खेलिसकेको छ । आर्मीले पुलिसलाई पराजित गर्दा एपीएफसँग हार व्यहोरेको थियो ।
यता पुलिससामु यस डर्बी खेलमा जित हात पार्ने अवसर छ भने एपीएफ पुलिसलाई पराजित गर्दै आफू विभागीय टिममध्ये बलियो भएको प्रमाणित गर्ने अवसर छ ।
यी दुईबीचको खेल आज दिउँसो साढे २ बजे सुरु हुनेछ हलचोक मैदानमा हुनेछ । एपीएफ १७ अंक सहित सातौ स्थानमा रहदाँ पुलिस १८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
आजकै अर्को खेलमा सरस्वती युथ क्लब र च्यासल युुथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा टेक्निकल सेन्टरमा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । सरस्वती १० अंक सहित तालिकाको दशौ स्थानमा छ । च्यासल १५ अंक सहित आठौँ स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७५ पुष १७ मंगलबार
Comments