काठमाडौं । रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिकले बालोन डी’ओरको अवार्ड जितेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीको ‘दबदबा’ तोड्दै मोड्रिकले सन् २०१८ को उत्कृष्ट फुटबलर घोषित भएका हुन् ।
करिब एक दशक देखिको मेस्सी र रोनाल्डोको बर्चस्वलाई तोड्दै ३३ वर्षीय मोड्रिकले सो उपाधि उचालकेका हुन् । यसअघि ब्राजिल तथा एसी मिलानका फरवार्ड काकाले सन् २००७ मा यो अवार्ड जितेपछि रोनाल्डो र मेस्सीले पालैपालो यो अवार्ड जित्दै आएका थिए । यस अवार्ड पछिल्लो १० वर्षमा रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए ।
मोड्रिकले लगातार तीन पटक च्याम्पियन्स लिग जित्नुका साथै क्रोएसियालाई रसिया विश्वकपको उपविजेता बनाएका थिए । यस्तै मोड्रिक यसैवर्ष फिफा वर्ष खेलाडी समेत घोषित भएका थिए । उनले विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल समेत प्राप्त गरेका थिए ।
यस्तै पाँच पटकका विजेता रोनाल्डो भने दोस्रो भए । इटालियन क्लब युभेन्ट्समा आवद्व भएका उनी दोस्रो हुँदा एन्टोइन ग्रीजम्यान तेस्रो, किलियन एम्बाप्पे चौथो तथा बार्सिलोनाका स्टार मेस्सी पाँचौ स्थानमा रहे ।
यस्तै छैटौं स्थानमा मोहम्मद सालाल, सातौं स्थानमा राफेल वराने, आठौं स्थानमा इडेन हाजार्ड, नवौं स्थानमा केभिन डी ब्रुने, दशौं स्थानमा ह्यारी केन रहे ।
विश्वभरका १ सय ८० खेल पत्रकारहरुको मतको आधारमा मोड्रिकले अवार्ड जितेका हुन् । अवार्ड जित्न मोड्रिकले ७ सय ५३ अंक पाएका थिए । रोनाल्डोले ४ सय ७६ अंक प्राप्त गर्दा ग्रीजम्यानले ४ सय १४ अंक पाए । यस्तै एमबाप्पेले ३ सय ४७ तथा मेस्सीले २ सय ८० अंक पाए । फ्रान्स फुटबल फेडेरेसनले स्थापना गरेको यस अवार्ड सन् १९५६ देखि दिँदै आइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर १८ मंगलबार
Comments