काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब आर्सनलले युक्रेनको भोरसाक्ला एफसीलाई ४–२ ले हराएर विजयी सुरुवात गरेको हो ।
आर्सनलका लागि आबुमियाङले दुई, ड्यानी वेलबेक र मेसुट ओजिलले एक एक गोल गरे । यस्तै, भोरसाक्लाका लागि पोल्टाभाका चेस्नाभोल र भिएचास्लाभ सार्परले एक एक गोल गरे । ३२ औं मिनेटमा आबुमियाङको गोलमार्फत अग्रता लिएको आर्सनलले ड्यानी वेलबेकले ४८ औ मिनेटमा अग्रता दोब्बर पारेका थिए । आबुमियाङले ५६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० मा पुर्याएका थिए ।
७४ औ मिनेटमा मेसुट ओजिलले गोल थपेपछि आर्सनल ४–० ले अघि बढेको थियो । तर ७६औं मिनेटमा पोल्टाभाका चेस्नाभोले र अतिरिक्त समयमा भिएचास्लाभ सार्परले गोल गर्दै भोरसाक्लाको अन्तर ४–२ मा ल्याए पनि हार टार्न भने सकेनन् ।समूह इ कै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको क्वाराबागलाई २ –० गोलले पराजित गरेको छ । लिस्बोनको जितमा राफेल विलोलीले ५४ औं तथा जोवानी कार्भालले ८८ औं मिनेटमा गोल गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार
Comments