काठमाडौं । कुनै बेला हाल फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका युवा फरवार्ड केलियन एमबाप्पे हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका बिग फ्यान थिए । तर, अहिले समय बदलिएको छ । यतिबेला उनीहरू एकअर्काविरुद्ध खेलिरहेका छन् । त्यत्ति मात्रै हैन, कतिपयले त रोनाल्डो र एमबाप्पेमा को उत्कृष्ट भनेर तुलनासमेत गर्न थालेका छन् ।
यसैबेला इटालियन क्लब इन्टर मिलानका रक्षक स्टेफन डे भ्रीजले भने रोनाल्डोभन्दा एमबाप्पे उत्कृष्ट फरवार्ड रहेको दाबी गरेका छन् । उनलाई यो लाग्छ कि, पाँचपटकका बालोन डि‘ओरधारी रोनाल्डोभन्दा एमबाप्पे राम्रा फरवार्ड हुन् ।
रोनाल्डो हालसालै इटालियन युभेन्टसमा अनुबन्ध भएका छन् । तर, उनले नयाँ क्लबमा तीन खेल खेलिसके पनि गोल गर्न सकेका छैन । यसबेला उनको आलोचना सुरु भइसकेको छ ।
भ्रीजले रोनाल्डोको आगमनले इटालीको फुटबलले उचाइ लिने बताए पनि उनलाई उत्कृष्ट खेलाडी भने मान्न तयार छैनन् । ‘यो सत्य हो कि, रोनाल्डोको आगमनले सिरी ए मा प्रभाव पार्छ,’ भ्रीजले भनेका छन्, ‘उनी आएपछि मैले पनि उनको प्रदर्शन ध्यान दिएर हेर्न थालेको छु ।’
तर, भ्रीज रोनाल्डोभन्दा पिएसजीका खेलाडी एमबाप्पेलाई उत्कृष्ट खेलाडी मान्छन् । ‘मैले सन् २०१४ को विश्वकपअघि पोर्चुगलसँगको मैत्रीपूर्ण खेल खेलेको थिएँ, उक्त खेल १–१ को बराबरीमा सकिएको थियो,’ उनले भने, ‘उक्त खेलमा रोनाल्डोले गोल गरेका थिए । त्यहाँदेखि यहाँसम्म हेर्दा रोनाल्डो राम्रा खेलाडी हुन् । तर, यतिबेला म एमबाप्पेबाट बढी प्रभावित छु ।’
उनले अघि थपे, ‘यदि कसैले मलाई रोनाल्डो र एमबाप्पेमा को उत्कृष्ट भनेर सोधे मेरो जवाफ हुनेछ– एमबाप्पे ।’ भ्रीजले १९ वर्षकै उमेरमा एमबाप्पेले देखाएको प्रदर्शन विशिष्ट रहेको पनि बताए । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ३० शनिबार
Comments