काठमाडौं । म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई हराउँदै इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कामयै राखेको छ। डिफेन्डीङ च्याम्पियनसमेत रहेको सिटीले घरेलु मैदान इतिहाद रंगशालामा न्यूकासललाई २,१ गोल अन्तरले हराएको हो।
खेलको आठौं मिनेटमा रहिम स्टरलिङको गोलबाट सिटीले सुरूवाती अग्रता लिएको थियो। तर, ३० औं मिनेटमा डीआन्द्रे एडलिनले न्युकासलको लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए।
पहिलो हाफसम्म १,१ गोलको बराबरी रहेको खेलको दोस्रो हाफमा डिफेन्डर काइल वाल्करले गोल गर्दै खेलमा सिटीलाई पुनः अगाडि बढाए। सर्जियो अगुएरोको पासमा वाल्करले गरेको गोलनै निर्णायक भएपछि सिटीले लिगमा अपराजित यात्रा कायम राखेको हो।
यो खेलसँगै सिटीले लिगमा ४ खेलबाट ३ जित र १ बराबरीसहित १० अंक जोड्दै तेस्रो स्थानमा छ। चार खेलमै सतप्रतिशत जित निकालेका लिभरपुल र चेल्सी १२ अंकसहित शीर्ष दुई स्थानमा छन्। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १७ आइतबार
Comments