काठमाडौं । कीर्तिमानी रकममा युभेन्टस आएका पोर्चुगिच स्टार रोनाल्डोले घरेलु मैदानमा गोलरहित डेब्यू गरेका छन्। इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोले गोल गर्न नसके पनि युभेन्टसले लाजिओलाई २–० ले हराउँदै लगातार दोस्रो जित निकालेको छ।
युभेन्टसको जितमा मिरालेम पजानिक र मारियो मान्जुकीले गोल गरेका थिए। खेलको ३० औं मिनेटमा पजानिकले गोल गर्दै खेलमा अग्रता दिलाए भने दोस्रो हाफको ७५ औँ मिनेटमा मान्जुकीले गोल गर्दै युभेन्टसलाई स्पष्ट जित दिलाए।
रोनाल्डो सिरिएमा डेब्यू खेलमा किएभोलाई युभेन्टसले ३–२ ले हराएको थियो। यो सँगै होम र अवे मैदान दुबैमा रोनाल्डोले गोल भने गर्न सकेका छैनन्। घरेलु मैदान एलिएन्ज रंगशालमा रोनाल्डोको पहिलो प्रतिस्पर्धात्मक खेलका लागि फ्यानहरुले उनको समर्थनमा ब्यानर तथा पोस्टरहरु लिएर आएका थिए ।
तर रोनाल्डोले विभिन्न सात वटा प्रहार गरे पनि कुनै गोल गर्न सकेनन्। युभेन्टसको दोस्रो गोलअघि रोनाल्डोले गरेको कडा प्रहार लाजिओका गोलरक्षक थोमस स्ट्राकोशले बचाएका थिए। शनिबार राति रोनाल्डोको गोल हेर्न आएका हजारौ समर्थक निराश भएका थिए। हालै ११२ मिलियन युरो तिरेर यसै सिजन रियल मड्रिडबाट खेल्दै आएका रोनाल्डोलाई युभेन्टसले ल्याएको हो। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १० आइतबार
Comments