भक्तपुर । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार पहिलो अभ्यास खेल खेल्दैछ । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप अघि एक साताको प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्न लागेको हो । नेपाली टोली सोमबार नै कोलम्बो पुगिसकेको छ ।
नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबसंग उसैको मैदान पानागोडामा प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंका आर्मीबीचको खेल नेपाली समय अनुसार बिहान १०ः१५ मा सुरु हुनेछ । खेल ५० ओभरको हुनेछ ।
यस्तै नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा खेल्ने छन् । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ ।छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।
प्रकाशित मितिः २०७५ भदौ ६ बुधबार
Comments