भक्तपुर २८ साउन । स्पेनिस रियल मड्रिड आफ्ना सुपरस्टार क्रिस्टिायानो रोनाल्डोलाई इटालियन क्लबमा बेचेपछि नयाँ खेलाडी भित्र्याउने प्रयासमा छ । ला लिगामा अझै पनि खेलाडी सरुवा बजार खुला रहेकाले रियलले नयाँ स्टार खेलाडीका लागि प्रयास गरिरहेको छ ।
रियलले यसअघि पिएसजीका फ्रेन्च स्टार केलियन एमबाप्पे र पिएसजीका ब्राजिलियन स्टार नेइमार भित्र्याउन नसक्ने भएपछि चेल्सीका बेल्जियन स्टार इडेन हाजार्डमाथि आँखा लगाइरहेको छ । तर, चेल्सीले आफ्ना खेलाडी नबेच्ने बताएपछि रियल हच्किएको थियो । तर, सरुवा बजारका पछिल्ला खबरअनुसार रियल अझै पनि हाजार्डलाई भित्र्याइछाड्ने अभियानमा लागेको छ । उसले यसअघि हाजार्डका लागि १ सय ५० मिलियन युरोको प्रस्ताव गरेकोमा चेल्सीले चासो दिएको थिएन ।
तर, रियल अहिले बेल्जियन स्टारका लागि २ सय मिलियन युरोभन्दा बढी रकम खर्चिन तयार भएको छ । पछिल्ला खबरअनुसार रियल हाजार्डलाई पिएसजीका नेइमारभन्दा पनि महँगो खेलाडी बनाएर बेर्नाबेउ भित्र्याउन तयार देखिएको छ । अधिकांश इंग्लिस खेल मिडियाले रियल हाजार्डका लागि २ सयदेखि २ सय ३० मिलियन युरोसम्म खर्चिन तयार रहेको खबर छापेका छन् । यदि रियलले उक्त रकम तिरे त्यो नेइमारका लागि पिएसजीले खर्चेको भन्दा बढी हुनेछ ।
स्पेनका केही मिडियाले पनि रियल सरुवा बजारमा ठूलो फड्को मार्ने कसरतमा लागेको दाबी गरेका छन् । प्रकाशित समाचारअनुसार रियलले हाजार्डलाई दीर्घकालीन रूपमा मुख्य खेलाडीका रूपमा भित्र्याउन चाहेको छ । रियलले ९ वर्ष रियलमा बिताएका रोनाल्डोलाई १ सय १२ मिलियन युरोमा युभेन्टसलाई बेचेको थियो । रियलमा रहँदा रोनाल्डोले हरेक सिजन औसतमा ५० गोल गर्दै आएका थिए । एजेन्सी
Comments