काठमाडौं ४ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले थाईल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । अर्को महिना इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि नेपालले थाईल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्रस्तावलाई थाइल्यान्ड फुटबल संघले स्वीकार गरेको एन्फाका प्रवक्ता किरण राईले बताए । प्रवक्ता राईका अनुसार नेपाली टोलीले १ देखि ४ अगस्ट भित्र दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । राईले युवा टोलीले थाइल्यान्डको राष्ट्रिय टोली र युनिभर्सिटी स्तरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताएका छन् ।
नेपाली टिमले अहिले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको छ । एसियाडका लागि एन्फाले यसअघि नै २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । एसियन गेम्सको फुटबल स्पर्धामा २३ बर्षका मुनिका खेलाडी समावेश हुनेछन् ।
इन्डोनेसियाको जाकार्ता र पालेमबङमा आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियन गेम्समा नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले सहभागिता जनाउदैछ । एसियन गेम्सको सार्वजनीक भएको ड्र अनुसार नेपाल समुह डीमा परेको थियो । जसमा एसियाली पावर हाउस जापान सहित भियतनाम र पाकिस्तान रहेका थिए । तर, प्रतियोगितामा सिरिया र प्यालेष्टाईन समावेश हुने भएपछि फुटबलको पुरुष स्पर्धाको ड्र फेरी सार्वजनीक हुने भएको छ । एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्स इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुदैछ ।
Comments