१ असार । २१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको हिजो भव्य उद्घाटन गरिएको छ । रसियाको मस्कोमा रहेको लुझ्निकी रंगशालामा विभिन्न सांगितिक कार्यक्रम र आतिसवाजीका साथ २१ औं संस्करणको विश्वकपको भव्य उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सहितका विश्वभरका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता छ ।
उदघाटन समारोहमा स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन भएको छ । ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाए । उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिइन् ।
प्रतियोगितामा सहभागी ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता अन्तिम १६ मा प्रवेश गर्नेछन् । मस्कोका २ सहित अरु १० शहरका १२ रंगशालामा विश्वकप फुटबलका खेल हुनेछन् ।
अबको ३२ दिनसम्म विश्वकपका ६४ वटा खेल हुनेछन । विश्वकपको २१ औँ संस्करणका खेल रुसका ११ शहरका १२ रंगशालमा हुनेछन् । यी १२ रंगशालाहरु १८ सय माइलको दूरीमा छन् ।
फाइनल खेल आउँदो जुलाई १५ मा उद्घाटन खेल भएकै ८१ हजार दर्शक क्षमता भएको लुज्निकी रंगशालामा हुनेछ । विश्वकपमा ३२ देशका ७३६ खेलाडीले मैदानमा आफ्नो प्रतिभा देखाउने छन् ।
यसपटकको विश्वकपमा फुटवल इतिहासमै पहिलोपटक भिडियो एसिस्टेण्ट रेफ्रि अर्थात भीएआर को प्रयोग हुँदैछ । मैदानमा रहेका निर्णायकले नदेखेका वा विवाद भएका कुरामा भिडियो फुटेज हेरेर यथार्थ पत्ता लगाइने प्रविधि नै भीएआर हो । यसले खेलका क्रममा हुने विवाद र निर्णायकमाथि लाग्ने आरोप अन्त्य हुने फिफाले जनाएको छ ।
Comments