३१ जेठ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रसियामा सुरु हुँदैछ । रसियामा आजबाट २१ औं विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ । विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन् । एक महिनासम्म चल्ने विश्वकप फुटबलमा ६४ खेल हुनेछन् । रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ । प्रतियोगितामा सहभागि हुन अधिकाशं देशका खेलाडी रसिया पुगिसकेका छन् ।
विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।
फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो । तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ । रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ ।
सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो । रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनौट भएको हो ।
साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागि भैसकेको छ ।
प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागि हुदैँछन् ।
विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै उपविजेताले २८ मिलिनय डलर पाउनेछ ।
Comments