काठमाडौं, २१ चैत । रुपन्देहीलाई हराउँदै विराटनगर किङ्सले धनगढी प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । यसअघि ब्याटिङ गर्दै विराटनगरका लागि बाबर हयातले ५८ रन बनाए । उनले ३५ बलमा चार छक्का र चार चौका प्रहार गरे । ओपनरद्वय दिलीप नाथले ४३ तथा अनिलकुमार साहले ३६ रनको योगदान दिए । कप्तान पारस खड्काले २२ तथा सौरभ खड्काले अविजित १७ रन बनाए । बलिङतर्फ रुपन्देहीका सुफियान महमुदले दुई तथा जितेन्द्र मुखिया र सागर पुनले एक÷एक विकेट लिए ।
जवाफी ब्याटिङका क्रममा रुपन्देहीका लागि प्रदीप ऐरीले ५४ रन बनाए । दीपक प्रसादले २२ रन बनाए । सुशन भारीले अविजित रहँदै २१ तथा कप्तान शक्ति गौचनले अविजित १४ रन बनाए । बलिङतर्फ विराटनगर किंग्सका शुभम कामतले तीन विकेट लिए । रामनरेश गिरीले दुई तथा कप्तान पारस खड्काले एक विकेट लिए ।
दुई खेलबाट पहिलो जित हात पारेको पारस खड्का कप्तान रहेको विराटनगर २ अंकसहित समूहको पाँचौ स्थानमा छ । काठमाडौं गोल्डेन्स र धनगढी ४ अंकसहित समूहको शीर्ष दुई स्थानमा छन् ।
विराटनगरको पहिलो जित
0
Share.
Comments