काठमाडौं, १२ चैत । अखिल नेपाल फुटबल संघ एन्फाको चैत १४ गतेका लागि तोकिएको साधारण सभा स्थगित भएको छ । एन्फालाई विपक्षी बनाई भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटको सुनुवाईमा उच्च अदालत पाटनले एन्फा निर्वाचन नगराउन आदेश जारी गरेको थियो ।
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष श्रेष्ठले आफूहरुलाई जिल्ला निर्वाचनमा सहभागिताबाट बञ्चित गराएको भन्दै चैत ७ गते रिट दायर गरेका थिए । न्यायाधीश राजकुमार वनको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षी एन्फालाई १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेपछि एन्फाको निर्वाचन अन्योलमा परेको थियो । एन्फाले अदालतबाट उक्त मुद्दाको चाँडै टुंगो लगाएर फिफा र एएफसीको निर्देशनअनुसार साधारणसभाको मिति तोक्ने जनाएको छ ।
यसैबीच, एन्फाको चुनाव स्थगित भएकोबारे जानकारी लिन एसियाली फुटबल महासंघ (एएफसी)को टोली आज काठमाडौं आउँदैछ ।
एएफसीको एसोसिएट देशका निर्देशक रवी कुमारसहितको टोली काठमाडौं आउन लागेको एन्फाले जनाएको छ ।
अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले तोकिएकै मितिमा महाधिवेशन नगराए कारवाही गर्ने चेतावनी दिए पनि अदालतको अन्तरिम आदेशको कारण देखाउँदै एन्फाले महाधिवेशन स्थगित गरेपछि एएफसीको टोली नेपाल आउन लागेको हो ।
एन्फा निर्वाचन स्थगित, एएफसी टोली आज नेपाल आउँदै
0
Share.
Comments