१३ फागुन । दक्षिण अफ्रिकासँगको ट्वेण्टी ट्वेण्टी क्रिकेट श्रृङखला भारतले कब्जा गरेको छ । तेस्रो तथा अन्तिम खेल ७ रनले हराउँदै भारतले श्रृङ्खला २–१ ले कब्जा गरेको हो ।
गए राति भएको तेस्रो तथा अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्घारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सफल भएको थियो । जवाफमा घरेलु टोली दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेटको क्षतिमा केवल १ सय ६५ रन जोड्न सक्यो ।
जेपी डुमिनीले ५५ तथा क्रिष्चियन जोन्करले ४९ रन बनाए पनि दक्षिण अफ्रिकालाई जिताउन सकेनन् । क्रिष्चियनले २४ बलमा ५ चौका र २ छक्कासहित ४९ रन बनाएका थिए भने डुमिनीले ४१ बलमा ३ छक्का र २ चौका सहित ५५ रन बनाए । भारतका भुवनेश्वर कुमारले दुई तथा सुरेश रैना, हार्दिक पाण्ड्या, सार्दुल ठाकुर र जसप्रित बुमराहले एक एक विकेट लिए ।
केपटाउनमा पहिले ब्याटिङ गरेको पाहुना टोली भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । नियमित कप्तान विराट कोहली बिनै मैदान उत्रेको भारतका लागि शिखर धवनले ४७ र सुरेश रैनाले ४३ रनको योगदान गरे । रैनाले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकाका जुनियर डालाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।
यसअघि भारतले पहिलो खेल २८ रनले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिका ६ विकेटले विजयी रहेको थियो । (एजेन्सी)
भारतले श्रृङ्खला २–१ ले कब्जा गर्यो
0
Share.
Comments