एजेन्सी, ४ पुस । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले दुईवटा अवार्ड पाएका छन् । बार्सिलोनामा हिजो भएको एक विशेष कार्यक्रममा मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड गरी दुई अवार्ड जितेका हुन् ।
यो अवार्ड स्पेनिस खेल पत्रिका मार्काले प्रदान गरेको हो । मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ । मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए । उनले टिमका साथी खेलाडी लुइस स्वारेजले भन्दा दुई गोल बढी गरेका थिए ।
मेस्सीलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरेको छ । यो अवार्ड ला लिगामा सिजनको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।
समारोहमा बार्सिलोनाका मिडफिल्डर आन्द्रेश इनिएस्टाले स्पेनको सबैभन्दा अमूल्य खेलाडीको अवार्ड पाएका छन् ।
एकैचोटी मेस्सीले पाए दुई अवार्ड
0
Share.
Comments