एजेन्सी, २० असोज । दुई पटकको विश्वविजेता अर्जेन्टिनाको रसिया विश्वकप यात्रा थप कठिन बन्दै गएको छ । दक्षिण अमेरिकी छनोट चरण अन्तर्गत आज बिहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा थप जटिल बन्दै गएको हो ।
खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षक अर्जेन्टिनाका लागि बाधक बने । यसअघि अर्जेन्टिना सन् १९७० को विश्वकपमा छनोट हुन सकेको थिएन ।
दक्षिण अमेरिकाको समूहबाट शीर्ष चारमा पर्ने समूह सिधै विश्वकपमा छनौट हुनेछन् भने पाँचौ स्थानमा पर्न सफल टिमले न्यूजिल्याण्डसँग प्ले–अफ म्याच खेल्नु पर्नेछ । एक खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना समूहको छैठौँ स्थानमा रहेको छ ।
पाँचौ स्थानमा रहेको पेरुको भने विश्वकपमा छनौट हुने सम्भावना जीवितै छ । पेरुले अब कोलम्बियासँग आफ्नो अन्तिम खेल खेल्नेछ । अर्जेन्टिनाले अर्को हप्ता इक्वेडरसँग खेल्नेछ । इक्वेडरसँगको खेल जितेर पनि अर्जेन्टिनालाई विश्वकपमा छनौट हुन अरु टिमको खेलमा भर पर्नु पर्दछ ।
त्यस्तै अर्काे खेलमा उरुग्वेलाई भेनेजुएलाले गोलरहित बराबरीमा रोकपछि विश्वकपमा छनौट हुन बाँकी खेलहरु कुर्न पर्ने भएको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले आजको खेल जितेको भए मात्रै विश्वकपमा छनौट हुन्थ्यो ।
अर्जेन्टिनाको विश्वकप यात्रा कठिन मोडमा
0
Share.
Comments