काठमाडौं, १९ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध चौथो खेलको लागि नेपाली फुटबल टोली घोषणा गरेको छ । आउँदो मंगलबार अर्थात असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
छनोट हुने टोलीको गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू छन् । डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी छन् ।
यसैगरी, ‘मिडफिल्डर’मा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘स्ट्राइकर’मा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट छन् ।
गत भदौ २० गते एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमा नै ताजिकिस्तानसँग २–१ गोलअन्तरले पराजय भोगेको थियो ।
छनौटको समूह एफमा रहेको नेपाल १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ । यमनको ५ अंक छ भने एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई हराउँदै ताजकिस्तानले ३ अंक जोडेको थियो । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एसिया कप फुटबल खेल्न पाउने छन् ।
Comments