मस्को, (एजेन्सी) १२ असार । विश्व विजेता जर्मनी क्यामरूनलाई हराउँदै फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । रूसमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा जर्मनीले क्यामरुनलाई ३–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो। जर्मनीको जितमा टिमो वेर्नेरले दुई तथा केरेम डेमिरबेले एक गोल गरे। क्यामरुनका लागि विन्सेन्ट अबुबाकरले एक गोल फर्काए ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको जर्मनीका लागि ४८ औं मिनेटमा डेमिरबेले पहिलो गोल गरे। ६६ औं मिनेटमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए । यता ७८ औं मिनेटमा अबुबाकरले क्यामरुनका लागि एक गोल फर्काए र खेल २-१ को स्थितिमा ल्याए। तर, त्यसको तीन मिनेटपछि वेर्नेरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी ३–१ ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्यो ।
जितपछि तीन खेलबाट सात अंक जोडेको जर्मनी समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जर्मनीले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने छ । यी दुवै बिचको खेल बिहीबार सोचीमा हुनेछ ।
Comments