काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले १० औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । शनिबार राति लेन्ससँग १–१ गोलको बराबरी खेले पनि शीर्ष स्थानमा रहेको पिएसजीले उपाधि उचालेको हो ।
घरेलु मैदानमा पिएसजीले १० खेलाडीमा सीमित लेन्ससँग बराबरी खेल्दै अङ्क बाँडेको हो । पिएसजीका लागि लियोनल मेस्सीले गोल गरे भने लेन्सका कोरिन्टिन जिनले एक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५७औँ मिनेटमा केभिन डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटियो । खेलको ६८औँ मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।
तर निर्धारित समय सकिन दुई मिनेटमात्र बाँकी रहेको अवस्थामा पिएसजीले गोल खायो । ८८औँ मिनेटमा जिनले गोल गर्दै लेन्सलाई बराबरीमा फर्काएका हुन् ।
बराबरीसँगै शीर्ष स्थानको पिएसजीले चार खेलअगावै उपाधि जित्यो । पिएसजीले १०औँ उपाधि जितेको हो । उसले सर्वाधिक धेरै १० पटक लिग वान उपाधि जित्ने एसटी इटेन्नीसँग बराबरी गरेको छ । यता, अर्जेन्टिनी स्टार लियोनल मेस्सीका लागि यो ११औँ लिग उपाधि हो । एजेन्सी
प्रकाशित मितिः २०७९ बैशाख ११ आइतबार
Comments