काठमाडौँ । चेन्नईले मंगलबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो विजय हासिल गरेको छ । शिवम दुबेको अविजित ९५ र रोबिन उथप्पाले ८८ रन बनाउनुका साथै महीश थीकशानाले चार विकेट लिँदा चेन्नईले आईपीएलमा पहिलो जित दर्ता गरेको हो । चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराएको हो ।
मुम्बईको डा. डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१६ रन बनाएको थियो । २१७ रनको लक्ष्य पछ्याएको बैंगलोरले ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो ।
लगातार पहिलो चार खेलमा पराजित चेन्नईको यो पहिलो जित हो । जितसँगै चेन्नईले दुई अंक जोडेको छ । बैंगलोरको भने यो दोस्रो हार हो । पहिलो खेलमा पराजित भएको बैंगलोरले पछिल्लो तीन खेलमा विजयी नतिजा निकालेको थियो । बैंगलोर ६ अंकका साथ पाँचौं स्थानमा छ ।
चेन्नईका ओपनर उथप्पाले ५० बलमा ४ चौका र ९ छक्कासहित ८८ रन बनाएका थिए । दुबेले ४६ बलमा ५ चौका र ८ छक्कासहित अविजित ९५ रन बनाए । रुतुराज गाइकवाडले १७ रन जोडे । बैंगलोरका वानिन्दु हसरंगा डी सिल्भारले दुई विकेट लिए भने जोश हाज्लेउडले एक विकेट लिए ।
२१७ रनको लक्ष्य पछ्याएको बैंगलोरका लागि शहबाज अहमदले सबैभन्दा ४१ रन बनाए । सुयश प्रभुदेसाई र दिनेश कार्थिकले समान ३४ रन बनाए । ग्लेन म्याक्सवेलले २६ रन बनाए । अनुज रावतले १२ र मोहम्मद सिराजले अविजित १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थीकशनाले चार ओभरमा ३३ रन दिएर चार विकेट लिएभने रविन्द्र जडेजाले चार ओभरमा ३९ रन दिएर ती विकेट लिए । मुकेश चौधरी र ड्वाने ब्राभोको नाममा एक एक विकेट रह्यो ।
आईपीएलमा आज मुम्बई इन्डियनस र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईले खेलेका चारै खेल हारेको छ भने पञ्जाबले दुई खेलमा जित र दुई खेलमा पराजय भोगेको छ । चार अंक जोडेको पञ्जाब सातौं स्थानमा छ भने मुम्बई पुछारमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ चैत ३० बुधबार
Comments