एजेन्सी ३१ चैत । रोयल च्यालेञ्जर्स बेङ्लोरका कप्तान विराट कोहली पूर्णरुपमा फिट भएका छन्। उनी शुक्रबार मुम्बई इन्डियन्सविरुद्ध हुने चौथो खेलमार्फत इन्डियन प्रिमियर लिग(आइपिएल) को दशौं संस्करणमा पहिलो पल्ट मैदानमा उत्रिने छन्।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को चिकित्सक टोलीले उनी फिट भएको जनाएका छन्। कोहलीलाई अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्ट खेल्ने क्रममा १६ मार्चमा काँधमा चोट लागेको थियो। यसपछि उनी मैदानमा प्रवेश गर्न सकेका थिएनन्। उनले अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट पनि गुमाएका थिए ।
नवौं आइपिएलसम्म उनी ४ हजार १ सय १० रन बनाएर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा थिए। तर, यसपालि ३ वटा खेल गुमाउनु पर्दा उनलाई गुजरात लायन्सका कप्तान सुरेश रैनाले उछिनेका छन्। पछिल्लो वर्ष उनको कप्तानीमा बेङ्लोर फाइनल पुगेको थियो। यसपालि टिमले खराब सुरुवात गरेको छ। हालसम्म ३ खेलमा बेङ्लोरले २ मा पराजय भोगिसकेको छ। यी दुवै खेलमा उनको अनुपस्थिति टिमले महसुस गरेको थियो। हाल बेङ्लोर अंक तालिकामा छैटौं स्थानमा छ।
Comments