काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ । पुलिसले समूह ‘ए’ अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशमाथि ८९ रनको फराकिलोे जित हात पारेको हो ।
यो जितसँगै पुलिसले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्दा कर्णाली भने समूह चरणबाटै बाहिरिएको छ । २४५ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ४७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । दिवान पुन १७ रनमा अविजित रहँदा कप्तान रविन्द्र शाहीले १७ रन बनाए ।
पुलिसका लागि दिपेन्द्रसिंह ऐरी र योगेन्द्र सिंह कार्कीले २-२ तथा करण केसी, गुल्सन झा, कुशल भुर्तेल र पवन सर्राफले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो।
यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रनको विशाल योगफल तयार पारेको थियो । पुलिसका लागि कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे ।
३९ बलको सामना गरेका कुशलले ९ चौका र ३ छक्कासहित ८२ रन जोडे । ६२ रन बनाएका ऐरीले२८ बलमा ९ चौका र २ छक्का प्रहार गरे । अविजित रहेका दिलिप नाथले ३१ र आरिफ शेखले १८ रनको योगदान दिए ।
दोस्रो विकेटका लागि भुर्तेल र ऐरी १०८ रनको शतकीय साझेदारी गरेपछि पुलिसले विशाल योगफल तयार पारेको थियो । कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले २-२ विकेट लिए ।
योसँगै तीन खेलमा सतप्रतिशत जित हात पारेको पुलिसले ६ अंक जोड्दा कर्णालीले ४ खेलमा २ अंक जोड्न सक्यो ।
प्रकाशित मितिः २०७८ पुुस ३० शुक्रबार
Comments