काठमाडौैं । टीट्वेन्टीपछि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि रोहित शर्मा भारतीय टोलीको कप्तान बनेका छन्।
उनले विराट कोहलीको स्थान लिएका हुन्। छनौट समितिले कोहलीलाई हटाएर रोहितलाई कप्तान नियुक्त गर्नु पछाडिको कारण स्पष्ट नपारे पनि सीमित ओभरको क्रिकेटमा अगाडि बढ्न रोहितको कप्तानी आवश्यकता रहेको उल्लेख गरेको छ।
कोहली पाँच वर्षयता भारतीय एकदिवशीय टोलीको कप्तान रहेका थिए। रोहितलाई टेस्ट टोलीमा पनि उपकप्तानको जिम्मेवारी दिइएको छ। टेस्ट टोलीमा कोहली नै कप्तान यथावत छन्। उपकप्तान भने अजिन्क्या रहाणे रहेका थिए।
यसअघि टीट्वेन्टी विश्वकप सकिनुअघि कोहलीले टीट्वेन्टीको कप्तानी छाड्ने घोषणा गरेका थिए। उनले त्यतिबेला टेस्ट र एकदिवशीय टोलीको नेतृत्वलाई प्रभावकारी बनाउन उक्त निर्णय लिएको उल्लेख गरेका थिए।
कोहली यसअघि सन् २०१७ को जनवरीयता भारतीय एकदिवशीय टोलीको कप्तान रहँदै आएका थिए। कोहलीको कप्तानीमा भारतले ५० भन्दा बढी एकदिवशीय खेल खेलेको थियो।
सन् २०१७ मा आयोजित च्याम्पियन्स ट्रफीमा फाइनलसम्म पुगेको थियो भने सन् २०१९ मा आयोजित एकदिवशीय विश्वकपमा सेमिफाइनलमा पराजित भएको थियो। भर्खरै सम्पन्न टीट्वेन्टी विश्वकपमा भने भारतीय टोली समूहगत चरणबाटै बाहिरिएपछि कोहलीको आलोचना बढेको थियो। एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments