काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा चितवन टाइगर्सले काठमाण्डाै किङ्ग्स इलाभेनलाई तीन विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको एक सय ४२ रनको लक्ष्य चितवनले आठ विकेट गुमाएर आठ बल बाँकी छँदै भेटायो ।
चितवनका लागि राजेश पुलामीले सर्वाधिक २६ र दिलिपनाथ र कमलसिंह ऐरीले समान २३/२३ रन बनाए । काठमाण्डौका जितेन्द्र मुखिया र रायन बर्लले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४१ रन बनायो । काठमाण्डाैका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए भने राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । चितवनका सागर ढकालले चार र करिम जनतले दुई विकेट लिए ।
आजको जितसँगै चितवन चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ भने काठमाण्डौ दुई अङ्कसहित चौथो स्थानमा छ । ईपीएलमा अहिले भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स खेलिरहेका छन् ।
प्रकाशित मितिः २०७८ असोज १४ बिहिबार
Comments