काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले पोर्चुगिज डिफेन्डर विल कार्भाल्होलाई अनुबन्ध गरेको छ। घरेलु फुटबलको नयाँ सिजनका लागि मनाङले डिफेन्डर कार्भाल्होलाई अनुबन्ध गरेको हो। मनाङले पोल्याण्डको क्लब लाडा बिलगोरजबाट कार्भाल्होलाई अनुबन्ध गरेको हो ।
सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ । जसका लागि मनाङले युरोपियन क्लब फुटबलको अनुभव बोकेका कार्भाल्होलाई भित्र्याएको हो। यस्तै कार्भाल्होले मनाङको जर्सीमा राष्ट्रिय लिग खेल्नेछन् । राष्ट्रिय लिगको मिति भने तय भएको छैन ।
मनाङका महासचिवमा तेन्जिङ गुरुङ र कार्भाल्होले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। २२ वर्षीय कार्भाल्हो सेन्टर डिफेन्डर हुन् । राइट ब्याकको भूमिका समेत निभाउन सक्छन ।
पोर्चुगिज क्लब बेन्फिकाको एकेडेमीमा हुर्किएका कार्भाल्होले वेस्ट ह्याम युनाईटेडको यू-२३ टोलीबाट खेलेको अनुभव छ । यस्तै इंग्ल्यान्डको एफसी डिपोर्टिभो गालिसियाबाट समेत खेलेका थिए ।
मनाङले यस अघि मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको थियो । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले रुपेशसँग एक वर्षको सम्झौता गरेको छ । थ्री स्टारमा चार वर्ष बिताएर रुपेश मनाङ फर्किएका हुन् ।
प्रकाशित मितिः २०७८ असोज २ शनिबार
Comments