काठमाडौं । न्युजिल्यान्डले पाकिस्तानविरुद्धको एक दिवसीय तथा टी-ट्वान्टी श्रृंखला रद्ध गरेको छ । पाकिस्तान पुगिसकेको न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै घरेलु टिमसँग नखेल्ने जानकारी दिएको हो । १८ वर्षपछि पाकिस्तान पुगेको न्युजिल्यान्ड र पाकिस्तानी टिमले शुक्रबार पहिलो एक दिवशीय खेल्ने बताइएको थियो । रावलपिन्डीमा हुने भनिएको खेलका लागि दुवै टिम आफू बसिरहेको होटलबाट रंगशाला नपुगेको इएसपीएन क्रिक इन्फोले लेखेको छ ।
‘न्युजिल्यान्ड सरकार र सुरक्षा निकायबाट आएको सुझावका आधारमा हामीले पाकिस्तानी टिमसँग नखेल्ने निर्णय गरेका छौँ । यसबाट पाकिस्तान क्रिकेट बोर्ड ( पीसीबी) दुःखी हुनेछ भन्ने हामीलाई थाहा छ । तर टिमको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो,’ न्युजिल्यान्ड क्रिकेटका प्रमुख डेभिड व्हाइटद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
प्रकाशित मितिः २०७८ असोज १ शुक्रबार
Comments