काठमाडौं । आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कतारको दोहा प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघले १६ दिनको प्रशिक्षणका लागि नेपाली टिमसँग कतारमा प्रशिक्षणको ब्यवस्था मिलाएको हो ।
टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुलाइरी भने यसअघि नै कतार पुगिसकेका छन । कतार भ्रमणमा टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध हुने छैनन् । उनी इन्डोनेसियाको लिग वान खेल्न व्यस्त छन् । उनी साफ अगाडि टोलीमा जोडिने छन् ।
अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेमा हुने साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंकाको सहभागिता हुनेछ ।
नेपालले गत १७ र २० भदौमा साफ च्याम्पिनसिप तयारी लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंशगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा समाप्त भएको थियो । दोस्रो खेल भारतले २-१ गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।
साफमा कोरोनाका कारण भुटानले नाम फिर्ता लिएको छ भने फिफा प्रतिबन्धका कारण पाकिस्तानले सहभागीता जनाउन पाउने छैन । कतार भ्रमणबाट नेपाली टिम २७ सेप्टेम्बरमा माल्दिभ्स पुग्नेछ ।
जसमा नेपालले माल्दिभ्ससँग असोज १५ मा पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गतेमा खेल्नेछ । तेस्रो खेलमा नेपालले भारतसँग असोज २२ गते र लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग असोज २४ गते खेल्नेछ । फाइनल खेल असोज २७ गते हुनेछ ।
प्रकाशित मितिः २०७८ भाद्र २४ बिहिबार
Comments