काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मिगुएलको पासमा गोल गरेका हुन् ।
त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २-० को जित दिलाए । चिलीका ग्यारी मेडेलले कार्लोसलाई फउल गरेपछि पाराग्वेले पेनाल्टी पाएको थियो । जसमा मिगुएलले सहजै गोल गरे ।
यस जितसँगै समूह ए को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ ।
पाराग्वेसँगको हारले चिली शीर्ष स्थानाम उक्लन असफल भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ११ शुक्रबार
Comments