काठमाडौं । स्पेन समूह उपविजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५–० ले पराजित गर्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको हो ।
स्पेनका लागि एम्रिक लापोर्ट, पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ३० औं मिनेटमा गोलकिपर मार्टिन डुब्राभ्काको आत्मघाती गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै स्पेनलाई दोब्बर अग्रता दिलाए । ५६ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए । ६७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । त्यसपछि ७१ औं मिनेटमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले ५–० को जित निकाल्यो ।
जितसँगै स्पेनले ३ खेलमा ५ अंक जोडेको छ । स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १० बिहिबार
Comments