काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आइतबार भएको खेलमा इंग्ल्याण्ड अष्ट्रिया र नेदरल्याण्ड्स विजयी भएका छन् ।
पहिलो खेलमा इंग्ल्याण्डले क्रोएशियालाई १–० ले, दोस्रो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ र अन्तिम खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ ले पराजित गरी विजयी सुरुवात गरेका हुन् ।
समूह डी को पहिलो खेलमा इंग्ल्याण्डले क्रोएशियालाई १–० ले पराजित गरेको हो । खेलको ५७ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेका थिए । जितसँगै समूह डी मा रहेको इंग्ल्याण्डले तीन अंक जोडेको छ ।
यस्तै, नर्थ म्यासेडोनियामाथि अष्ट्रियाले ३–१ को जित दर्ता गरेको हो । खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा गोरानले गोल गर्दै म्यासेडोनियालाई १–१ गोलको बराबरीमा फर्काए । ७८ औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई २९१ को अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा मार्कोले गोल गर्दै अष्ट्रियालाई ३–१ को जित दिलाए । जितसँगै समूह सी को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ ।
नेदरल्याण्डसले युक्रकेनमाथि ३–२ को रोमाञ्चक जित हात पार्दै समूह सी मा तीन अंक जाडेको छ । खेलको ५२ औं मिनेटमा कप्तान वाइनाल्डमले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाए । ५८ औं मिनेटमा वाउट वेघोर्सटले गोल गरेपछि डच टोलीले अग्रता दोब्बर बनायो । युक्रेनका लागि एन्ड्री यार्मोलेन्कोले ७५औं मिनेटमा पहिलो गोल फर्काउँदै अग्रता २–१ मा ल्याएका थिए भने ७९ औं मिनेटमा रोमन यारेमचुको युक्रेनका लागि बराबरी गोल गरेका थिए । ८५ औं मिनेटमा डेन्जल डम्फ्रिजले गोल गरेपछि नेदरल्यान्ड्सले खेल ३–२ ले जित्यो ।
प्रकाशित मितिः २०७८ जेठ ३१ सोमबार
Comments