काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत शनिबार भएको खेलमा बेल्जियम र फिनल्याण्ड विजयी भएका छन् भने वेल्स र स्विजरल्याण्डले बराबरी खेलेका छन् ।
बेल्जियमले रुसलाई ३–० ले र फिनल्याण्डले डेनमार्कलाई १–० ले पराजित गरेको हो । यस्तै, वेल्स र स्विजरल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।
बेल्जियम र रुसबीचको खेलमा खेलको १० औंं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए । त्यसपछि ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।
जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
यस्तै, फिनल्याण्ड र डेनमार्कबीचको खेलमा खेलको ५९ औं मिनेटमा जोल पोहान्पालोले गोल गर्दै फिनल्याण्डलाई जित दिलाए । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत भएर लडेपछि झन्डै डेढ घण्टा रोकिएको थियो । दुवै टोलीसँग यूईएफएले छलफल गरेपछि खेल झन्डै डेढ घण्टापछि सुचारु भएको थियो ।
जितसँगै फिनल्यान्डले समूहमा ३ अंक जोडेको छ । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् ।
खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै स्विजरल्याण्डलाई १–० को अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा मोरेले गोल गर्दै वेल्सलाई हारबाट जोगाए ।
बराबरीसँगै समूह ए मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाँडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ३० आइतबार
Comments