काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार सोमबारबाट पुनः चम्किन सुरु गरेको हो । सोमबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । बजार बढ्न थालेपछि विस्तारै खरिदबिक्री रकममा पनि तेजी आउने अपेक्षा गरिएको छ । बजारले क्रमशः बुल रन पछ्याउन थालेकाले केही दिन तल झरे पनि पुनः बढ्ने क्रम सुरु हुने विश्लेषकहरुले यसअघि पनि बताएका थिए ।
हाम्रो बजारले निश्चित समयको बुल र वियरिस चक्र बनाउने गरेको छ । सोही अनुसार करिब ४२ महिना लामो वियरिस चक्र समाप्त गरी अब वुलिस बाटोमा अघि बढ्न थालेको अनुमान छ । यसको अर्थ बुलिस चक्रमा बजार सधैं बढ्छ भन्ने होइन । यसमा घट्ने क्रम कम र बढ्ने प्रवृत्ति धेरै हुने मात्र हो । तल झर्ने मात्रा कम र माथि जाने आकार बढी हुँदै नेप्सेले नयाँ यात्रा तय गर्ने अनुभवीहरु बताउने गर्छन् ।
बजार बुलिस हुन बैंक ब्याजदर, सूचीकृत कम्पनीहरुको कमाई अनि लाभांश अनुपात लगायतले पनि सोही अनुसार साथ दिनुपर्ने हुन्छ । यसँसँगै बजारमा नयाँ र पुराना दुवैथरीका लगाीकर्ताको सक्रिय सहभागिता हुन आवश्यक छ । लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ ।
बजार नयाँ उचाईमा पुग्न कम्तिमा ३ वर्ष लाग्ने अनुभवीहरुको भनाई छ । यसबीचमा पटकपटक साना–ठूला उतारचढावहरु आउन सक्नेछन् । बजार बुलिस हुँदैमा सबै कम्पनीबाट उत्तिकै लाभ लिने सम्भावना न्यून हुन्छ । यसर्थ, आम लगानीकर्ताले कम्पनीको सुक्ष्म अध्ययन गर्न आवश्यक हुन्छ । लगानी रणनीति बनाउनुपर्छ । सोही अनुसार अघि बढ्न सकेमा लाभ लिन सकिने विश्लेषकहरु बताउँछन् ।
नेप्से सूचक सोमबार २३.९५ अंकले बढेर १३००.६२ विन्दुमा आइपुगेको छ । यसअघि १३६० आसपासमा पुगेको नेप्से घटेर १२७६ अकंसम्म झरेको थियो । सोमबारको वृद्धिसँगै बजारले फेरि १३०० अंकलाई छोएको हो । यो मनोवैज्ञानिक रेखामा सूचक प्रवेश गरेसँगै लगानीकर्ता थप उत्साहित भएका छन् ।
१८० कम्पनीको ९१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २४ लाख ९ हजार २६२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै १७४.०३ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि १८.०१ अंकको तेजी आएको छ ।
खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । यसको ८ करोड १४ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । यस दिन सबैभन्दा धेरै समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.७९% का दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ ३.०७% ले घटेको हो ।
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार
Comments