साउनमा खीर किन खाइन्छ ?

0

काठमाडौं । खीर शब्द संस्कृत शब्द क्षिरमाबाट आएको मानिन्छ । क्षिरमाको अर्थ दूध र अन्नबाट बनेको परिकार हो । खीरलाई पायस पनि भन्ने गरिन्छ । साउन महिनाको १५ गते खिर खाने परम्परा रहेको छ । विशेष गरी पश्चिम नेपालमा रहेको साउन १५ मा खिर खाने परम्परा अहिले विश्वव्यापी नै भएको छ ।

कृषिप्रधान देश नेपालमा कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्पराको विकास भएको मानिन्छ । असार १५ गते दहि चिउरा,साउनको १५ मा खिर, मंसिर १५ मा न्वागी, माघमा खिचडी तथा पुस १५ मा घिउ खट्टे खाने नेपाली प्रचलन छ ।

साउन महिनामा मासु नखाई दूधको परिकार खाने प्रचलन छ । कतिपय नेपाली समाजमा साउन १५ र संक्रान्तिमा खिर खाने गरिन्छ

। साउन महिनालाई हिन्दू धर्मावलम्बीहरुले शिवपूजन महिना मान्छन् ।
सनातन वैदिक परम्परामा पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट ,चाडपर्व र विशेष दिनमा समेत खिरको पोषिलो परिकार बनाई खाने चलन छ । आयुर्वेदका अनुसार वर्षा ऋतु शरीरमा पित्त सञ्चित हुने भएकाले खिर खान उपयुक्त मानिन्छ ।

खिर बनाउन आवश्यक दूध, चिनी, नरिवल, दालचिनी, चामल आवश्यक हुन्छ । दूधमा शीतलपन प्रदान गर्ने मधुर गुण हुन्छ । मरिचले कफ हटाउन मद्दत गर्छ । नरिवलमा शीतलता प्रदान गर्ने गुण हुन्छ । दालचिनी अग्निबर्द्धक भएकाले पित्त नास गर्ने क्षमता राख्छ । चिनी र चामलले शक्ति प्रदान गर्छ, वर्ण चहकिलो पार्छ र पित्त नास गर्छ । त्यसैले पनि यो ऋतुमा खिर भोजन गर्नु लाभप्रद मानिन्छ । गर्मी क्षेत्र अर्थात् दक्षिण भारत, बंगलादेश, मालदिभ्स, थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खीर बनाउने गरिन्छ ।

श्रावणको मध्यविन्दुमा खीर खान आजकल सार्वजनिक कार्यक्रम नै बन्न थालेका छन् । रोपाईं सकेपछि सायद थकानमुक्त बनाउन हाम्रा पूर्वजले खीर खाने प्रचलन ल्याए होलान् । असारभर पानी र हिलोमा खेल्दा लाग्ने चिसाबाट बच्न पनि तातो खिर खाएर चिसोबाट जोगिने विश्वास छ । कृषकहरुका खेतबारीमा बालीनाली सप्रियोस, मानो रोपेर मुरी उब्जियोस, आषाढ र श्रावणको दुखः मंसिरमा सुखानन्द बनेर प्राप्ति होस् । खीर जस्तै स्वस्थ्य, स्वच्छ र मधुर विचारसहितको व्यवहार हामी सबैमा लागु होस् खीर खाने दिनको शुभकामना ।

प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार

Comments

comments

Share.
Loading...

Comments