धेरैको ज्यान लिने ‘सेप्सिस’ के हो, कसरी र किन हुन्छ? लक्षण के के हुन्?

0

काठमाडौं । सेप्सिस भनेको शरीरमा संक्रमण फैलिएर ज्यानै जान सक्ने रोगको एक अवस्था हो। यसलाई शरीरमा रोग विरुद्ध लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रुपमा हेर्न सकिन्छ।

साथै, यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरुले शरीरका विभिन्न अंग प्रणालीहरुलाई आक्रमण गरेर काम नलाग्ने बनाउन सक्छ। यसलाई सेप्सिसको विकराल अवस्थाको रुपमा हेर्न सकिन्छ।

सेप्सिसका मूलतः तीन रुप हुन्छन्?
– सेप्सिस
– सेप्सिस र अंग प्रणाली कमजोर हुनुः जस्तै फोक्सो, कलेजो र मिर्गौला
– सेप्सिस र रक्तचाप अत्यन्त कम हुनुः नशाबाट दिइएको तरल पदार्थ (सलाइन) ले पनि नभई रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपर्ने अवस्था, यसले गर्दा शरीरका महत्वपूर्ण अंगलाई चाहिने रगत, अक्सिजन र आवश्यक तत्वको कमी हुने अवस्था।

सेप्सिस कुनै रोग नभई रोगहरुको समूह (सिन्ड्रोम) हो। यसले प्रायजसो उमेर ढल्केका र रोग प्रतिरोधात्मक क्षमता कम भएका जस्तैः एचआइभी÷एड्स, क्यान्सर, अंग प्रत्यारोपण भएका बिरामीहरु, सघन उपचार कक्ष (आइसियु)का बिरामीहरु, चोटपटक लागेका वा पोलेको घाउ भएका बिरामी र कृत्रिम श्वासप्रश्वास दिएर राखेका बिरामीलाई बढी हुने सम्भावना हुन्छ।

सेप्सिसको पहिचान र उपचार सक्दो चाँडो हुनु आवश्यक छ किनभने उपचारमा गरिने प्रत्येक घन्टाको ढिलाइले बिरामीको मृत्युदर बढाउँछ। र, चाँडै गरिने उपचारले त्यो मृत्युदरलाई घटाउन सकिन्छ।

सेप्सिसका लक्षण
तलका चारमध्ये कुनै दुई लक्षण देखिएमा सेप्सिस भएको हुनसक्छ
– शरीरको तापक्रम ३८ दशमलव ३ डिग्री सेन्टिग्रेट भन्दा बढी अथवा ३७ डिग्री सेन्टिग्रेट भन्दा कम भएमा,
–मुटुको चाल प्रतिमिनेट ९० भन्दा बढी भएमा,
– श्वासप्रश्वासको गति प्रतिमिनेट २० भन्दा बढी भएमा र
– प्रमाणित अथवा अनुमानित संक्रमण भएको अवस्थामा

त्यस बाहेक यी लक्षण देखिएमा सेप्सिससहित अंग प्रणाली काम छोडेको थाहा हुन्छः
– पिसाबको मात्रा अति कम हुनु,
– होस कम हुनु,
– शरीरको रगत जमाउने कोषिका (प्लेटलेट) को मात्रामा कमी हुनु
– श्वासप्रश्वासमा गाह्रो हुनु,
– मुटुको चाल र काम गर्ने क्षमतामा कमी आउनु,
– पेट दुख्नु,
– जन्डिस देखिनु

माथि लेखिएका लक्षणसित यदि रत्तचाप अति कम भई बढाउनका निम्ति औषधि प्रयोग गर्नुपरेमा सेप्सिसको अन्तिम अवस्था अथवा विकराल अवस्था मानिन्छ। र, यसको मृत्युदर अति नै धेरै हुन्छ। अर्थात् ५० प्रतिशतभन्दा बढी।

सेप्सिसका कारण
धेरै किसिमका जिवाणु (ब्याक्टेरिया, भाइरस र फंगस)को कारणले हुन सक्छ। सामान्यतयाः ती जीवाणुले गराउने रोगहरुमाः
– न्युमोनिया (फोक्सोको संक्रमण)
– पेटको संक्रमण
– मिर्गौलाको संक्रमण
– रगतको संक्रमण

यदि सेप्सिस अथवा कुनै अंग प्रणालीले काम गर्न छाडेको शंका लाग्ने वित्तिकै तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ। आफैंले नजिकैको मेडिकलमा जँचाएर एन्टिबायोटिक भने खानु हुँदैन। अस्पताल वा डाक्टरको परार्मश लिएर मात्र औषधि सेवन गर्नुपर्छ।

सेप्सिस भएको शंका लागेमा चिकित्सकलाई देखाएर रगत, खकार, पिसाब, छातीको एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान वा आवश्यक भएमा एमआरआई समेत गर्नुपर्ने हुन्छ।

यी बाहेक रोगको किसिम र अंगको प्रणालीमा भएको असर हेरी विभिन्न जाँच गराउनुपर्ने हुनसक्छ।

सेप्सिस भएको खण्डमा एन्टिबायोटिक चलाउने, स्लाइन, अक्सिजन र परेको खण्डमा कृत्रिम श्वासप्रश्वास र मिर्गौला खराब भएको खण्डमा डायलाइसिस, रक्तचाप न्यून भएमा बढाउने औषधि र शरीरको कुनै भाग कुहिएमा वा पिप जमेको खण्डमा शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्छ।

सेप्सिसको रोकथाम गर्न के गर्ने?
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो। केही सामान्य कुरामा ध्यान दिए सेप्सिसबाट बच्न सकिन्छ।

– हात धुनेः बिरामीलाई छुुनुअघि र पछि संक्रमित कुराहरु छोएपछि हात धुने,
– कुनै संक्रमण भएको शंका मात्रै लागेमा तुरुन्तै स्वास्थ्य सल्लाह लिने र
–सेप्सिसबारे जनचेतना फैलाउने

(नेपाल क्रिटिकल केयर डेभेलोपमेन्ट फाउन्डेसनका लागि डा अमित शर्माले तयार पारेको लेख)

प्रकाशित मितिः २०७८ भाद्र २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments