नेपालमै बनेको ल्यापटप, जसका लागि पैसा तिरेर ६ महिनासम्म पर्खिन तयार छन् ग्राहक

0

काठमाडौं । गेमिङप्रति हिजोआज नेपाली युवाहरूको आकर्षण तीव्र रुपमा बढिरहेको छ । यससँगै बजारमा गेमिङ ल्यापटपको माग पनि धेरै छ । लागत मूल्य र करका कारण गेमिङ ल्यापटपको मूल्य पनि आकासिएको छ ।

सर्वसाधारणको पहुँचयोग्य मूल्यमा प्रिमियम ल्यापटप बनाउने उद्देश्यले सुरु भएको नेपाली स्टार्टअप कम्पनी हो, ‘रिप्पलटेक’ । सानो कम्पनीको रुपमा बजारमा आएर ठूलो छलाङ मार्ने उद्देश्य राखेको रिप्पलका ल्यापटप अहिले डिजिटल कन्टेन्ट क्रियटर र गेमरहरूको रोजाइमा पर्न थालेका छन् ।

बजारमा स्टक सकिएको मौकामा प्रवेश गरेको रिप्पलटेकले छ महिना नबित्दै हजार भन्दा बढी ल्यापटप बिक्री गरिसकेको कम्पनीका सीईओ राहुल कायस्थले बताए । राहुल पहिलो चरणको कोरोना महामारीका बेला मलेसियामा पढाइ सकेर नेपाल फर्किएका थिए ।

आफूसँग भएको पुरानो ल्यापटपले काम गरेन । बजारमा ल्यापटप किन्न जाँदा उनलाई मूल्य सुन्दा निकै महङ्गो लाग्यो । विदेशबाट आयात गर्दा लाग्ने करले गर्दा नेपालमा ल्यापटपको मूल्य धेरै हुन पुगेको उनले थाहा पाए ।

नेपालमै ल्यापटप बनाउँदा कम मूल्यमा बिक्री गर्न सकिन्छ भन्ने सोचेरै उनले लगानी जुटाउन थाले । कलेजको पढाइ भर्खर सकिएकाले उनी आफ्ना बाँकी तीन जना साथीहरूसँग मिलेर बजार अध्ययन पनि गरिरहेका थिए ।

राहुल कायस्थ कम्पनीका सीईओ हुन् । त्यस्तै अर्का सहसंस्थापक मेघ शाक्यले मार्केटिङ सम्हालिरहेका छन् भने, सिद्धान्त राई प्रमुख सञ्चालन अधिकृत र आरती जोशी वित्तीय निर्देशक हुन् । त्यस बाहेक अन्य दुई जना प्राविधिक र दुई जना मार्केटिङमा गरी जम्मा आठ जनाले कम्पनीमा काम गरिरहेका छन् ।

ल्यापटपको रिप्पलटेकले मलेसियाबाट आवश्यक पाटपुर्जा ल्याउने गरेको छ । बजार र ल्यापटपको कानूनी काममा सरकारी निकायले पनि राम्रै सहयोग गरिरहेको कम्पनी सञ्चालकहरूको अनुभव छ । महङ्गा र चल्तीका ब्रान्डका उत्पादनहरू चलाउने बानी परिसकेको भएपनि रिप्पलका ल्यापटपले ट्रेन्ड ब्रेक गरेको कायस्थको बुझाई छ ।

उनी छोटो समयमै प्राप्त सफलतालाई लिएर भन्छन्, ‘‘हामीले कुनै पनि शीर्षकमा हचुवाको भरमा लगानी गरेनौँ । बजार बुझ्यौँ र लगानी पनि धेरैजसो रकम उपभोक्ताकै पैसाबाट गरेका छौँ । हामीलाई तीन महिना अघि नै ग्राहकले ५० प्रतिशत रकम बुझाउँछन् र ल्यापटपको लागि पर्खाइमा बस्छन् । सायद हामी नै त्यस्तो पहिलो कम्पनी हो, जसलाई ग्राहकले अथाह विश्वास गरेका छन् ।’

पछिल्लो छ महिनामा नेपालमा ल्यापटपको आयात धेरै घटेको छ । यस्तो बेलामा बजारमा उत्रिएको रिप्पलटेकले गेमर तथा प्रोफेसनलको विश्वास राम्रैगरी जितेको छ । सुरुवाती छ महिनामै करिब एक हजारको हाराहारीमा ल्यापटप बिक्री भइसकेको राहुलले बताए । उनले भने, ‘सोचेको भन्दा धेरै नै राम्रो नतिजा मिलेको छ । हामी उचित समयमा बजारमा आएका रहेछौँ ।‘

मार्केटिङका लागि झन्डै एक करोड खर्चिएका राहुल भन्छन्, ‘नेटवर्किङले राम्रो काम गरेको छ । स्टार्टअप भएपनि प्रविधिको क्षेत्रमा राम्रो चिनजान थियो । मिडिया र सरकारले पनि राम्रै सहयोग गरे । यही रफ्तारमा अगाडि जाने हो भने पनि हामी सय वर्ष त मजाले चल्न सक्छौँ भन्ने आत्मविश्वास पलाएको छ ।’

‘हाम्रो वित्तीय स्थिति र व्यवस्थापन पक्ष राम्रो भएकाले पनि अन्य स्टार्टअपका तुलनामा हामीलाई धेरै नै सजिलो छ । समयसँगै फिचरहरूमा पनि परिमार्जन गर्नैपर्छ । एक पटक ल्यापटप बजारमा आइसकेपछि फेरि हामीले विज्ञापन गरिरहनुपरेको छैन । प्रोडक्ट राम्रो भएपछि ‘माउथ पब्लिसिटी’ ९एक व्यक्तिले अर्को व्यक्तिलाई स्वतःस्फूर्त रुपमा गर्ने प्रचार० ले नै काम गर्ने रहेछ,’ राहुलले अगाडि भने ।

‘सुरुमा नयाँ जेनेरेसनको ल्यापटपमा लगभग तीन महिना जति हामी मात्रै थियौँ । जसले गर्दा हामीलाई बजार लिन झनै सजिलो भयो । नेपालमा बनेको ल्यापटप भनेपछि आलोचना खेप्नुपर्छ भन्ने लागेको थियो । तर आलोचना कम र प्रशंसा बढी पायौँ ।” ल्यापटप अहिलेसम्म राम्रो रुचाइएको र उपभोक्तामाझ विश्वास बढेको राहुलले बताए ।

उनी भन्छन्, ‘हामीले सामान्य प्रयोगकर्ताहरूका लागि लक्षित गरी ल्यापटप बनाइरहेका छौँ । त्यस्तै ल्यापटपमा दुई वर्षको वारेन्टी र त्यसको प्राविधिक सेवामा छुट समेत दिएका छौँ ।’ कम्पनीले अहिलेसम्मको व्यापारबाट भएको आम्दानीको ९० प्रतिशत रकम पुनः ल्यापटप बनाउनै नै लगानी गरिरहेको छ ।

यसो गर्दा बजारमा प्रोडक्टको अभाव हुनबाट जोगाउने कम्पनी सञ्चालकहरूको विश्वास छ । माग अनुसारको आपूर्ति नभएमा ग्राहकहरू निराश हुने भन्दै राहुल आफूहरू सकेसम्म ग्राहकको सन्तुष्टिमा केन्द्रित रहेको बताउँछन् ।

अहिले रिप्पलका २० प्रतिशत ग्राहक काठमाडौं उपत्यकामा छन् भने बाँकी पोखरा र देशका अन्य सहरमा छन् । कम्पनी बाहेक, राहुल अहिले मनोविज्ञान विषयमा पीएचडी गरिरहेका छन् भने उनका साथीहरू पनि कामसँगै कलेजको पढाइलाई समेत अगाडि बढाइरहेका छन् ।

प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments