चिनियाँ रकेट नेपालको आकाशमा डढेर नष्ट भएको अमेरिकाको दाबी

0

काठमाडौं । अन्तरिक्षमा गुप्तचर भूउपग्रह पठाउनका लागि उपयोग गरिएको चिनियाँ रकेटका अवशेषहरू नेपालको आकाशमाथि डढेर नष्ट भएको यूएसएनआई नामक न्युज वेबसाइटले खबर दिएको छ । यस्तै किसिमको घटना गत साता अमेरिकाको टेक्ससमा पनि भएको उक्त वेबसाइट लेख्छ ।

चाङ चङ २डी लंग मार्च रकेट २०० भन्दा बढी दिन अन्तरिक्षमा रहेपछि वायुमण्डलमा पुनः प्रवेश गरेको थियो र नेपालको आकाशमाथि डढेर नष्ट भएको थियो, अन्तरिक्ष भौतिकशास्त्री जोनाथन मकडावेलले यूएसएनआईलाई बताए ।

चार टन तौलको अन्तरिक्ष कुडाकर्कट चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनको वाई–६५ मिसनको एक अंग थियो । त्यसले तीनवटा सैन्य विद्युतीय निगरानी भूउपग्रहहरू गत जुलाई २९ मा मध्य चीनको सिचाङ भूउपग्रहीय प्रक्षेपण केन्द्रबाट पठाएको मकडावेलले यूएएनआई न्युजलाई बताए ।

मकडावेलका अनुसार, चिनियाँ रकेट पश्चिम नेपालको आकाशमाथि डढेर नष्ट भएको थियो । ‘चिनियाँहरूले यो रकेट प्रक्षेपण गर्दा सन् २०२३ मै कुनै समयमा संसारको कुनै ठाउँमा रकेट पुनः प्रवेश गर्ने योजना बनाएका थिए,’ मकडोवेल बताउँछन्, ‘त्यो त्यति राम्रो वा विशिष्ट योजना त हैन तर एक किसिमको योजना चाहिँ हो ।’

चीनले अन्तरिक्षमा छोडेका कुडाकर्कटलाई अनियन्त्रित रूपमा वायुमण्डलमा पुनः प्रवेश गर्न दिने गरेको भन्दै आलोचना गर्ने गरिएको छ । गत नोभेम्बर महिनामा लंग मार्च ५ रकेटको २३ टन भाग प्रशान्त महासागरमा अनियन्त्रित रूपमा खसेको थियो । तर त्यसअघि संसारभरि चेतावनी जारी गरिएको थियो । एजेन्सी

प्रकाशित मितिः २०७९ चैत्र ०१ बुधबार

Comments

comments

Share.
Loading...

Comments