काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ। सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारकाे बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्।
श्रेणीविहीन स्थायी कार्यालय सहयोगीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जनाए। लामो समयदेखि स्थायी कार्यालय सहयोगीहरुले आफ्नो सेवा समूह र पद परिवर्तन गर्न माग गर्दै आएका थिए।
यस्तै, बैठकले काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब–स्टेशनमा संरचनाको सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने निर्णय गरेको छ। साथै सरकारले उक्त कामका लागि प्रारम्भिक कारबाही चलाउने अधिकारीसमेत तोक्ने निर्णय गरेको छ। यस्तै, सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ।
मन्त्री कार्कीका अनुसार मंगलबारको बैठकले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने निर्णय गरिएकाे छ। यस्तै सरकारले मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
मन्त्री कार्कीका अनुसार मंगलबारकै बैठकले भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ। साथै महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने सम्बन्धमा पनि निर्णय गरेको छ।
कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ताटोली गठन गर्ने, निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने र बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहुलाई नियुक्ति दिने निर्णय गरेको छ।
प्रकाशित मितिः २०७९ असार १५ बुधबार
Comments