भक्तपुरमा चौँथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४–७५’ को आयोजना गरिने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा उक्त मेलाको आयोजना गर्ने भएको हो ।
मेला आगामी चैत्र २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिन सञ्चालन गर्ने तयारी भइरहेको मेला आयोजकले जानकारी गराएको हो । भक्तपुरमा पत्रकार सम्मेलन गर्दै उपभोक्तालाई एकै स्थानबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका साथ उक्त मेलाको आयोजना गरिएको जानकारी गराईएको हो । मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने छ ।
सल्लाघारी आयोजना गरिने मेलामा २ सय भन्दा बढी स्टल रहने छन् । मेलामा दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्न, बिभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, सटलहरु रहने भएका छन् । अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल पनि मेलामा रहने छन् । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था समेत मिलाईएको जानकारी गराईएको छ ।
मेलामा आउनेहरुका लागि डा ईवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए । करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने र करिब १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको समते पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
Comments