भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सूर्यबिनायक–धुलिखेल खण्डका रुखहरु धमाधम काटिँदै छ ।
सो सडकखण्डमा रहेका रुखहरुका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै सडकका दुबै किनारका रुखहरु काट्न सुरु गरिएको हो ।
रुख बुढो भएको र जुनसुकै बेला ढल्न सक्ने भन्दै उक्त क्षेत्रका रुखहरु काट्न सुरु गरिएको डिभिजन वन कार्यालय भक्तपुरका सहायक वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए ।
उनले भने वातावरणीय स्वरुपमा रुखहरु काट्दा यसको कुनै मूल्य मापन गर्न नसकिने भएता पनि सडकमा हुने सक्ने दुर्घटनालाई मध्यनजर गर्दै यस सडक खण्डका विभिन्न जातका ३ सय ९१ वटा रुख कटान गरिन लागेको हो ।
सडक किनारमा रहेका रुखहरुले जोखिम बढाएसँगै र बिभिन्न क्षेत्रका सरोकारवालहरुको संलग्नतामा रुखहरु ब्यवस्थापन गर्न थालिएको उनले जानकारी दिए ।
सडक बिस्तारको नाममा राजनीति ब्यक्तित्व र अर्थसँगको साँठगाँठका कारण रुख कटान गरिएको हुन सक्ने युवा वातावरणविद् कमलराज गोसाँइले बताए ।
उनी भन्छन्, यसरी रुख कटान वातावरणका दृष्टिकोणले सकारात्मक नभएको र यस्ता रुखहरुलाई संरक्षण गरि सडक बिस्तार गर्न सकिने भएता पनि यसो नगर्नु दुःखद् पक्ष रहेको छ ।
डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालयको सहकार्यमा सूर्यविनायकदेखि साँगासम्मको करिब चार किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका रुखहरु कटान गरि ब्यस्थापन गर्न थालिएको छ ।
लामो समयदेखि सडक निर्माणको चर्चा चलेता पनि बजेटकै कारण यो सडकले भने हालसम्म पनि पूर्णता पाउन सकेको छैन । सरकारले यो सडक खण्ड निर्माणका लागि १ अर्व बजेट घोषणा गरेता पनि बिदेशी दाताको सहयोगमा निर्भर रहने जनाएको छ तर हाल सम्म पनि कुनै बिदेशी निकायले भने यो सडक निर्माणका लागि बजेट सहयोगको चासो नदेखाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments