काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने भएका छन्। आज बस्ने मन्त्रिपरिषद् बैठकपछि राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिन लागेका हुन्। प्रतिनिधिसभाको औपचारिक निर्वाचन परिणाम आइसकेपछि उनले राजीनामाको निर्णय लिएका हुन्। बुधबार साँझ नै सम्वोधन र राजीनामा आउने बताइए पनि अन्तिम समयमा रोकिएको थियो।
प्रतिनिधिसभाको अन्तिम मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार साँझ नै हस्तान्तरण गरेको छ। मतपरिणाम प्राप्त भएपछि नयाँ सरकार गठनका लागि कुनै संवैधानिक बाधा नभए पनि प्रधानमन्त्रीको राजीनामा आउन लागेको हो। प्रतिनिधिसभा निर्वाचन घोषणापछि सरकार स्वतः कामचलाउ भइसकेको थियो।
माओवादी केन्द्रको समर्थनमा गत जेठ २३ गते देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। करिव ९ महिना कार्यकाल बिताएका देउवा चौथोपटक प्रधानमन्त्री बनेका थिए। उनको कार्यकालमा दोस्रो र तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो। यस्तै, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचन पनि देउवाको कार्यकालमा सम्पन्न भएको थियो।
संविधान कार्यान्वयनका लागि भएका पछिल्ला निर्वाचनबाट राजनीतिक उपलव्धि हासिल गरेको सरकार निर्वाचनपछि भएका केही निर्णयमा भने आलोचित बनेको छ। राज्यकोषमाथि आर्थिक व्यायभार थप बढाउने देउवा नेतृत्वको मन्त्रिपरिषद्को निर्णयमाथि सर्वत्र आलोचना भएका छन्।
Comments