काठमाडौं, १ फागुन । महाशिवरात्रि अथवा शिवरात्रि भगवान् शिवको प्रमुख पर्व हो। शिवजी उत्पत्ति भएको विश्वास राखिने महाशिवरात्रि मनाउन लागि हिन्दूहरूका आरध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ। शिवरात्रि नजिकिँदै गर्दा नेपालका विभिन्न भूभाग तथा भारतबाट बाबाहरू पशुपति आउने क्रम बढेको हो। शिवरात्रिमा पशुपतिमा सयौँको संख्यामा बाबाहरू आउने गर्छन्।
आज महाशिवरात्री, हिन्दूधर्मावलम्बीहरुले भगवान् शिवको पूजा आराधना गरी महाशिवरात्री पर्व मनाईरहेका छन् । फागुन कृष्ण त्रियोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने भगवान शिवको अति प्यारो दिनका रुपमा लिइन्छ ।
यस पर्वका दिन उपवास बसी रातभर जाग्राम गरेर शिवको प्रिय गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । आजका दिन भगवान शिवलाई जाडो नहोस् भन्नका लागि प्रत्येक घर,चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने गरिन्छ ।
महाशिवरात्रीको अवसरमा काठमाण्डौस्थित पशुपतिनाथको दर्शन र शिवरात्रीको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरुको घुईंचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाएको जनाएको छ । कोषले दर्शनका लागि आएका भक्तजनको लाईन तथा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।
तिलगंगा, जयबागेश्वरी र गुहेश्वरी तर्फबाट दर्शनार्थीको लाईन व्यवस्थापन गरिएको छ । नशालू पदार्थ सेवन गर्न नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । कोषले पशुपति मन्दिर परिसर भित्र गाजा, भाङ लगायतका नशालु पदार्थ सेवनमा रोक लगाउन सुरक्षा र निगरानीलाई चुस्त राखेको जनाएको छ ।
कोषले यस वर्ष १२ लाखसम्म दर्शनार्थी आउने अनुमान गरेको छ । महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रको अलावा मुलुकभर रहेका शिवालयमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । आजको दिन नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्ने चलन छ ।
Comments