काठमाडौं, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता भैरहेको छ । सातै प्रदेशका उच्च अदालत परिसरमा रहेका निर्वाचन प्रयोजनका लागि खुलेका निर्वाचन अधिकृत कार्यालयहरुमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु पुगेर मनोनयन दर्ता गरेका छन् । उच्च अदालत रहेका स्थानहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । उम्मेदवारहरुले निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी माघ २४ गते हुने निर्वाचनबाट प्रदेश प्रदेशबाट कम्तिमा तीन महिला, एक दलित, एक अल्पसंख्यक या अपांगता भएका व्यक्ति र अन्य तीन गरी आठ आठ जना सदस्य निर्वाचित हुनेछन् । महिला र अन्य सदस्य एकल संक्रमणीय निर्वाचन प्रणालीबाट निर्वाचन हुनेछ भने दलित र अल्पसंख्यक या अपांगता भएका व्यक्तिका लागि बढिमतीय प्रणालीबाट निर्वाचन हुनेछ ।
उम्मेदवारी दर्ताका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, १० हजार रुपैयाँ धरौटी रकमको बैंक भौचर रसिद आवश्यक पर्ने छ ।
यसैगरी, दलका उम्मेदवारको हकमा मनोनयनको औपचारिकपत्र, दलित सदस्यको हकमा सम्बन्धित गाउँपालिका, नगरपालिका वा सरकारबाट दलित समुदायको व्यक्ति भएको प्रमाणित निस्सा, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक सदस्यको हकमा सरकारबाट दिइएको अपांगता भएको प्रमाणपत्रको प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित निस्सा पेस गर्नुपर्नेछ ।
उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्नेछ ।
माघ २४ मा हुने निर्वाचनमा भाग लिनका लागि आयोगमा २१ दलले दर्ता गराएका थिए । राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये तीन सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नेछन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता जारी
0
Share.
Comments