काठमाडौं, ९ माघ । माघ २४ गते हुन लागेको राष्ट्रियसभा चुनावको उम्मेदवार चयन गर्न प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार राष्ट्रियसभा चुनावको लागि भोलि मनोनयन दर्ताको समय रहेकाले दलहरु आज बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।
नेकपा एमालेले प्रदेश ५, ६ र ७ का उम्मेदवार टुंगो लगाए पनि बाँकी प्रदेशका उम्मेदवार चयनका लागि आज ओली निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएको छ ।
यसैगरी नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित निवासमा शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।
यसैगरी नेकपा माओवादीका शीर्ष तीन नेताहरु पनि आन्तरिक छलफलमा छन् । छलफलका लागि नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेका छन् । माओवादी केन्द्रले उम्मेदवार चयन गर्ने जिम्मा यीनै तीन नेताहरुलाई दिएको छ ।
यसैगरी, संघीय समाजवादी फोरम र राजपाका शीर्ष नेताहरु पनि राष्ट्रिय सभा चुनावका उम्मेदवार चयन गर्ने तथा आपसमा तालमेल गर्ने विषयमा छलफलका लागि व्यस्त छन् ।
राष्ट्रियसभाका उम्मेदवार छान्न दलहरु आन्तरिक छलफलमा
0
Share.
Comments