काठमाडौ, ८ माघ । विद्याकी देवी सरस्वतीको पूजाआराधनासहित आज श्रीपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिएको छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
बसन्त पञ्चमीबाटसमेत चिनिने यो दिनमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विद्या आर्जनमा लागेका विद्यार्थीले पूजाआजा गर्ने गरेका छन् ।
आजका दिन प्रत्येक विद्यालयमा विद्याकी देवीका रुपमा परिचित सरस्वतीको पूजाआराधन गरिने गरिएको छ । विद्यार्थीहरुले बिहानै उठेर नुहाइधुवाई गरी आफूले पढ्ने पुस्तक तथा कापीकलममा पुजा गरेका छन् । त्यस्तै साहित्यकार, संगीतकारलगायतले पनि आफ्ना कला साधनाका सामग्रीहरुको पूजाआजा गरेका छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
श्रीपञ्चमीका दिन गरिने जुनसुकै शुभकार्यका लागि साइत हेर्न नपर्ने विश्वास रहेको छ ।
आज सरस्वतीको पूजा–आराधना गरि श्रीपञ्चमी मनाईदै
0
Share.
Comments