भक्तपुर, २ माघ । भक्तपुरमा अहिले पनि अधिकाशं घरहरु असुरक्षित नै रहेका छन् । एक तथ्याकं अनुसार जिल्लामा अझैपनि ९० प्रतिशत घरहरू भुकम्पको उच्च जोखिममा रहेका छन् । १० प्रतिशत नयाँ निर्माण भएका भर मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरेको भक्तपुर नगरपालिका समेत बताउँछ ।
सरकारले भूकम्प प्रतिरोधी घर निर्माणका लागि भवन संहिता लागू गरेको वर्षौ बिते पनि नागरिकहरूमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतनामा भने विकास हुन नसक्दा भक्तपुरका घर अझै असुरक्षित रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए ।
भूकम्प गएपछि सरकारले भूकम्पप्रतिरोधी घर बनाउन कार्यान्वयन तहमा जोड दिएको छ । तर, पनि नागरिकले इन्जिनियरमार्फत नक्सा पास गर्ने गरे पनि आफूखुसी घर निर्माण गर्ने गरेको पाइएको ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ बताउँछन् । नक्सा पास गरेर घर बनाए पनि मापदण्डको पालना अझै नभएको उनको भनाई छ । यसअघि आएको विनाशकारी भूकम्पले सातो लिँदा पनि घर तथा भवन बनाउन सर्वसाधारण अझै सचेत नभएको प्राविधिकहरुले बताएका छन् ।
भूकम्प आउनुअघि भन्दा पछिको निजी घर तथा भवनको पुनर्निर्माणको अवस्था अझ डरलाग्दो र विकराल रहेको उनीहरु बताउँछन् । भक्तपुरका प्राविधिकहरुले भूकम्प भोगेका सर्वसाधारण सचेत नहुँदा गुणस्तरहीन तथा भूकम्पीय दृष्टिले असुरक्षित घर तथा भवनको बढोत्तरी भएको जानकारी दिएका छन् ।
भूकम्पपछि भइरहेको पुनर्निर्माणको अध्ययन गर्दा हाल भइरहेको पुनर्निर्माणमा गुणस्तर र भूकम्प प्रतिरोधात्मकताको अवस्था पहिला भन्दा पनि दयनीय भएको देखिएको सुकुलढोकाका स्थानीय राकेश श्रेष्ठले बताएका छन् ।
भूकम्पपछि पुनर्निर्माणको नाउँमा माटो हिलोमाथि नै ढलान घर ठडिने क्रम बढ्दो रहेको छ । निर्माण कार्य चाँडै सकाउने नाउँमा घरधनीले आफ्नो जिन्दगीभरको कमाई र परिवार बस्ने घरको गुणस्तर माटोमै मिलाउँदै आएको उनले जानकारी दिए । भूकम्पपछिको पुनर्निर्माणमा अत्यधिक प्राविधिक त्रुटिहरुले प्रसय पाएको इञ्जिनियर सृजना प्रजापतिले बताईन् । कम्पनपछिको पुनर्निर्माणमा घरको जगदेखि नै त्रुटि हुँदै आएको उनको भनाइ छ । नगरपालिकाले नक्सापासअनुसार घर तथा भवन नबनाएका नगरवासीलाई कारबाही नगर्दा पनि असुरक्षित एवं गुणस्तरहीन घर तथा भवन बनिरहेका छन् ।
भक्तपुरका घर अझै असुरक्षित
0
Share.
Comments