काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नेपाल स्वास्थ्यका लागि पानी’ नामक गैरसरकारी संस्थामा भएको व्यापक आर्थिक अनियमितताविरुद्ध परेको उजुरीमाथि छानबिन गर्न उदासीन देखाएको छ । नेवामा आर्थिक अनियमितताका अतिरिक्त त्यहाँका कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा २ वर्षअघि नै अख्तियारमा उजुरी परेको थियो ।
संस्थामा आबद्ध अधिकांश कर्मचारीका शैक्षिक योग्यताका प्रमाणपत्रमाथि छानबिन गर्नका लागि आयोगमा उजुरी परे पनि संस्थाका कार्यकारी निर्देशक उमेश पाण्डे र अख्तियारका केही पदाधिकारीको मिलेमतोकै कारण उजुरी ‘पेन्डुलम’ को अवस्थामा रहेको स्रोतले बताएको छ । नेवाका केही पदाधिकारी र अख्तियारका उच्चपदस्थ कर्मचारीबीच घाँटी जोडिएकाले निर्देशक पाण्डे बजारमा ‘मत्ताहात्ती’ झैँ भएको स्रोतको भनाइ छ । नक्कली शैक्षिक प्रमाणपत्रधारी व्यक्तिहरू अहिले पनि नेवाका निर्देशक पाण्डेकै संरक्षणमा रहेका छन् ।
पाण्डे एउटै संस्थाको दुइटा कार्यकारी पदमा छन् । उनको शैक्षिक प्रमाणपत्रमाथि पनि शंका रहेको संस्थाकै कर्मचारीहरू बताउँछन् । संस्थामा लाखौँको घोटाला भएको र संस्थाप्रमुखको मनोमानीमा कर्मचारी भर्ना गरिएको कारण तत्काल पाण्डेमाथि छानबिन गर्नुपर्ने नेवाकै कर्मचारीहरू बताउँछन् । निर्देशक पाण्डेले हेलिकोप्टरबाट मात्र नभई अन्य सवारीसाधनको प्रयोग गरी ढुवानी गर्दा पनि लाखौँको आर्थिक हिनामिना गरेको पाइएको समाजकल्याण परिषद्बाट गठित ३ सदस्यीय छानबिन टोलीले तयार पारिरहेको प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले जनाएको छ । निर्देशक पाण्डेले कार्यसमितिको मासिक बैठक भत्तामै आर्थिक अनियमितता गरेका छन् ।
कार्यसमितिको बैठकले समितिका पदाधिकारी बैठकमा सहभागी भएबापत दिने गरेको भत्तामा अनियमितता भएको हो । कार्यसमितिको बैठक बस्दा प्रतिव्यक्ति ७ सय रुपैयाँ दिने कार्य समितिको निर्णय भए पनि संस्थाका प्रमुखको ठाडो निर्देशनमा आफूअनुकूलका केही पदाधिकारीलाई बोलाई भत्तास्वरूप ३ हजार रुपैयाँ दिएको खुल्न आएको छ ।
Comments