भक्तपुर, २८ भदौ । दशैं नजिकिएसँगै भक्तपुरका साथै उपत्यका लगायका होलसेल कपडा पसलहरूमा चहलपहल सुरू भएको छ।
भक्तपुरमा होलसेल कपडाको लागि सूर्यविनायक, मध्यपुर, भत्तःपुर नगरक्षेत्र र काठमाडौका न्यूरोड, महाबौद्ध, असन, इन्द्रचोक ललितपुरका मुख्य मुख्य व्यापारीक केन्द्र लगायत देशका विभिन्न ठाँउका व्यापारीहरूको भीड उल्लेख्य देख्न सकिन्छ।
दशैंमा नयाँ कपडा लागाउनुपर्ने मान्यताको कारण यो समयमा व्यापार बढ्ने जानकारहरू बताउँछन्। यो समयमा नेपालबाट मात्र नभई भारतको दार्जलिङबाट समेत व्यापारीहरू आउने न्यूरोडका होलसेल कपडा व्यापारी राकेस अग्रवालले जानकारी दिए। काठमाडौं बाहिरका व्यापारीहरू दशैंको लागि सामान लिन आउने क्रम बढ्दो छ । धेरै जसोले घटस्थापना अगावै लैजान्छन् तर धेरै व्यापारीको सामान भने अझै आइपुगेको छैन’ उनले भने।
यो समयमा अधिकांश व्यापारीहरूले पातला कपडा धेरै लैजान्छन् तर तिहारको लागि कपडा किन्न आउँदा भने उनीहरू बाक्ला कपडामा धेरै जोड दिन्छन् अग्रवालले थपे। दशैं आउनुभन्दा तीन हप्ता अगाडि कपडा किन्न आउँदा समेत राम्रा कपडा पाउन कठिन भएको चितवन, बकुल्लहरस्थित द स्टार कलेक्सनका संचालक रविन पौडेल बताउँछन्।
महेन्द्रनगर, विराटनगर, धनगढी , नेपालगञ्ज, पोखरा, बुटवल विराटनगरलगायतको टाढा स्थानका धेरै व्यापारीहरू कपडाका खरिदका लागी उपत्यकामा आइसकेका छन् । उनीहरूले धेरै परिमाणमा कपडा लगेको र चाइनाबाट पनि धेरै कपडा नआएको कारण धेरै भेराइटिको कपडा पाउन नसकिएको व्यावसायीहरु बताउँछन् ।
दशैंमा करीब १५ देखि २० अर्बको कपडाको व्यापार हुने भएपनि करीब २५ प्रतिशत सामान मात्र नेपाल भित्रिएको हिमालय सीमापार वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष बच्चु पौडेल बताउँछन्। अधिकांश कपडा थाइल्याण्ड, चाइना र कम्बोडिया लगायतबाट आयात भएपनि करीब ९० प्रतिशत कपडा भने चाइनाबाट आउने पौडेलले जानकारी दिए।
Comments