भक्तपुर, २७ भदौ । अदालतको आडमा मापदण्ड र गैरकानुनी ढंगबाट विद्यार्थी भर्ना गरिरहेको मध्यपुरथिमीमा रहेको चक्रवर्ती नर्सिङ कलेजलाई तत्काल अवैधानिक रुपमा लिएको विद्यार्थी भर्ना रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत उक्त कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको सूचना आएपछि सिडिओ दोर्ण पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।
सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेको थियो । कलेजले प्रतिविद्यार्थी दुई लाख ५० हजार अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गरेको विद्यार्थीहरुले नै बताएका छन् ।
कलेजमा १ सय ३७ विद्यार्थीले आवेदन दिएकोमा ३७ जनालाई भर्ना गरिएको र तीनवटा सिट छात्रवृत्तिका लागि राखिएको कलेजको लेखा शाखाले जनाएको छ । सिटिइभिटीसँग अनुमति लिए÷ नलिएको आफूलाई केही जानकारी नभएको कलेजको लेखाशाखाका कर्मचारी विक्रम देउजाले बताए ।
गएको दुईवर्षदेखि अदालतबाट अन्तरिम आदेश ल्याएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने गरेकाले यसवर्ष पनि सिटिइभिटीविरुद्ध अदालत जाने तयारी भैरहेको बताईएको छ । कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गराएर ठगी गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै विद्यार्थी नै आक्रोशित भएका छन् । उक्त कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरण समेत नभएको सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए ।
सिटिइभिटीको नियमअनुसार हरेकवर्ष विद्यार्थी भर्नाअघि कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार ठीक भए÷नभएको, शिक्षक गुणस्तरीय भए÷नभएको, आफ्नै अस्पताल वा एकसय शय्याका अरु अस्पतालसँग प्रयोगात्मक शिक्षाका लागि अनुमति लिए÷नलिएको अनुगमन गरेर सिटिइभिटीको मापदण्ड पूरा गरेकालाई मात्रै विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गर्ने र नवीकरण गर्ने नियम रहेको बाग्ले बताउँछन् ।
नर्सिङ कलेजको सम्बन्धन दिने, नवीकरण गर्ने अधिकार सिटिइभिटीसँग मात्रै भएको बताउँदै उनले कि ऐन खारेज गर्नुप¥यो, हैन भने ऐन, नियम विपरीत विद्यार्थी भर्ना गर्न नपार्यने बताए ।
विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको स्टे अर्डरलाई मानेर विद्यार्थीको रजिस्ट्रेसन गरिए पनि यसवर्ष भने ऐन मिच्ने, १०० शैयाको अस्पतालमा प्रयोगात्मक गर्न अनुमति नभएको, पूर्वाधार नपुगेको र नवीकरण नगरेकाले विद्यार्थीको रजिस्ट्रेशन नहुने भएको छ । भर्ना भएका विद्यार्थी र उनका अभिभावकले कलेजमा दिनभर भेला भएर कलेजले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको बताउँदै रकम फिर्ता गर्न माग गरेका छन् ।
Comments