काठमाडौँ र आसपासको आकाश तुवाँलोले भरिएसँगै आँखा पोल्ने समस्या
काठमाडौं । काठमाडौँ र आसपासको आकाशमा तुवाँलोले ढाकिएको छ । वातावरणमा रहेको धुलो र डढेलोपछि निस्किएको धुवाँको कारण समस्या आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको आकाश तुवाँलाले ढोकेसँगै आँखा पोल्ने समस्या देखिएको छ । जल तथा मौसमविद् राज प्रधानाङ्गका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको हो ।
उनले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको बताए । भारतबाट आएको धुलोले काठमाडौँमा असर पुगेको उनले बताए । उनले डढेलो र अरु प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए । वायु प्रदूषणका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै चिकित्सकहरुले पनि सतर्कता अपनाउन आग्रह गरेका छन् ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘वायू प्रदूषण बढेको हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, यसबारे सबै सचेत हुनुपर्छ । अनावश्यक घर बाहिर ननिस्किनुहोला । वायु प्रदूषणको स्तर अत्याधिक बढेको हुँदा आँखा पोल्ने समस्या देखिएको छ ।’
प्रकाशित मितिः २०७७ चैत्र १३ शुक्रवार